Notice Details

प्लास्टिक घर भित्र तरकारी खेती तालीम

 

प्लास्टिक घर भित्र तरकारी खेती तालीम

 

हिमाली आयोजनाबाट अनुदान प्राप्त तरकारी खेती व्यवसायमा संलग्न व्यवसायीहरुका लागि मिति २०७२ माघ १० गतेदेखि १५ गतेसम्म हिमाली आयोजनाको व्यवस्थापन र तरकारी विकास निर्देशनालय प्राविधिक समन्वयमा "प्लाष्टिक घरभित्र तरकारी खेती तालीम" केन्द्रिय तरकारी बीउ उत्पादन केन्द्रको तालीम हल खुमलटारमा संचालन गरियो । उक्त तालीममा हिमाली आयोजनाबाटै अनुदान पाउनुभएका हिमाली आयोजना लागू भएका १० उच्च पहाडी जिल्लाका १९ जना व्यावसायिक कृषकहरु सहभागी हुनुहुन्थ्यो । हिमाली आयोजनाका वरिष्ठ कार्यक्रम अधिकृत श्री कौशल कुमार पौडेलको स्वागत मन्तब्य सहित कार्यक्रमको औपचारिक सुरुवात भएको थियो ।

 

तरकारी विकास निर्देशनालयको प्राविधिक सहयोगमा सञ्चालित यस ६ दिने तालीममा तरकारी विकास निर्देशनालय, केन्द्रीय तरकारी वीउ उत्पादन केन्द्र, राष्ट्रिय मसला बाली विकास कार्यक्रम र बागवानी अनुसन्धान महाशाखा समेतको प्राविधिक विज्ञहरुको सहजीकरणमा सञ्चालन भएको थियो । तालीमको अवधिमा तरकारी खेतीका विविध पक्षहरु जस्तै तरकारी खेतीको महत्व, मध्य तथा उच्च पहाडी भेगमा लगाइने तरकारीका जातहरु, लगाउने समय र तरिका, प्लाष्टिक घर निर्माण तथा त्यसमा तरकारी उत्पादन, बागवानी अनुसन्धान महाशाखाबाट तरकारी खेतीका लागि विकास गरिएका प्रविधिहरु बारेको जानकारी, नर्सरी तथा नर्सरी व्यवस्थापन, प्लाष्टिक घरमा थोपा सिंचाइ जडान तथा व्यवस्थापन, प्लाष्टिक घरभित्र देखिने प्रमुख रोग तथा किराहरु र तिनको व्यवस्थापन लगायतका व्यावहारिक समस्याहरु तथा तरकारी उत्पादन उप्रान्त गर्नु पर्ने विभिन्न कार्यहरु बारे सैद्धान्तिक तथा व्यावहारिक ज्ञान लगायत छलफल तथा फोटो तथा भिडियो प्रदर्शनी मार्फत् सहजीकरण गरिएको थियो ।  तालीमकै क्रममा तरकारी विकास निर्देशनालयको हाता भित्रै व्यवसायीहरुलाई प्लाष्टिक घर निर्माण र प्रयोगका विविध पक्षबारे व्यावहारिक जानकारी दिने उद्देश्यले एउटा १२८ ५ मिटरको प्लाष्टिक घर निर्माण र त्यसभित्र थोपा सिंचाइ लगायतका बाली व्यवस्थापनका विधिहरु समेत प्रदर्शन गरिएको थियो ।

 

हिमाली आयोजनाका वरिष्ठ कार्यक्रम अधिकृत श्री कौशल कुमार पौडेलको अध्यक्षता, तरकारी विकास निर्देशनालयका निमित्त कार्यक्रम निर्देशक श्री बासुदेव सुवेदीको विशेष आतिथ्यता, केन्द्रिय तरकारी वीउ उत्पादन केन्द्रका फार्म प्रबन्धक अरूण काफ्ले लगायत तरकारी विकास निर्देशनालय र राष्ट्रिय मसला बाली विकास कार्यक्रमका प्राविधिक विज्ञहरुको उपस्थितिमा प्रमाणपत्र वितरण र मन्तब्य सहित तालीमको समापन भएको थियो ।

 

 

 

 

Download